काठमाण्डू, ५ वैशाख– बिरामी उपचार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेको प्रकरणमा एक चिकित्सकलाई स्पष्टीकरण सोधिएको छ ।
भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत रोग विशेषज्ञ डा। सुधीरप्रसाद साहलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको हो । उनलाई एक साताभित्र लिखित स्पष्टीकरण दिन भनिएको छ । काउन्सिलले बिरामीको उपचार गरिरहेको भिडियो सामाजिक सञ्जालमा राख्नु चिकित्सकको पेशागत नैतिकता र व्यवसायीक आचार संहिता प्रतिकूल रहेको जनाएको छ । साहले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा बिरामीको उपचार गरेको भिडिओ पोष्ट गर्दै आएका थिए ।
साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडिओ सामग्रीबारे काउन्सिलले अनुमन गरेको र त्यस क्रममा आचारसंहिता उल्लंघन भएको देखिएको काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देृदद्वारा प्रेषित पत्रमा उल्लेख छ । डा. साहलाई तोकिएको समयसीमाभित्र स्पष्टीकरण नदिए कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी काउन्सिलको छ ।