राप्रपाभित्र फेरि हलचल, दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी खोल्ने तयारीमा हुन धवल ?

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते १५:५० मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले आज लेखेको एउटा स्टाटसले पार्टीभित्रको आन्तरिक एकतामा गम्भीर संकट उत्पन्न भएको संकेत गर्छ ।

उनले पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाको पछिल्ला गतिविधिलाई लिएर आशंका व्यक्त गर्दै जवाफको माग समेत गरेका छन । महामन्त्री राणाले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी खोल्न लागेको दावी गर्दै पत्रकार नवराज धानुकले लेखेको स्टाटसको स्क्रिनसट राख्दै श्रेष्ठले राणासँग जवाफको माग गरेका हुन ।

धानुकको स्टाटसमा लेखिएको थियो, ‘नयाँ पार्टी खोल्ने तयारीमा धवलशम्शेर राणा र दुर्गा प्रसाईं, दुवै आन्तरिक छलफलमा । वर्तमान परिस्थिति र जनादेशलाई हेर्दै नयाँ दल खोलेर राजासहितको हिन्दुराष्ट्र मुख्य एजेन्डा । ’ स्टाटसको स्क्रिनसट हाल्दै श्रेष्ठ लेख्छन्, ‘केही दिनयता हाम्रो पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई जोडेर यस्ता समाचारहरु आइरहेका छन् ।

व्यक्तिगतरुपमा म यो समाचारमा किञ्चित विश्वास गर्दिन, तर पात हल्लियो । हावा चलेरै पात हल्लिएको हो कि के होला ? सार्वजनिक भएका विषयमा आम जनसमुदाय, पार्टी पंक्ति एवं शुभेच्छुक, शुभचिन्तकलाई स्पष्ट पारिदिनु हुन श्रद्धेय महामन्त्री डा।राणालाई सार्वजनिक रुपमा विनम्र अनुरोध गर्दछु ।’

श्रेष्ठ पार्टीको प्रचार विभाग प्रमुख र प्रवक्ता मात्रै नभएर अध्यक्ष राजेन्द्र लिङदेनका सबैभन्दा विश्वासिला नेताका रुपमा चिनिन्छन् । त्यसैले उनका अभिव्यक्तिहरुमा पार्टी संस्थापन र अध्यक्ष लिङदेनको आधिकारिक धारणा आउने विश्वास गरिन्छ । उनी पार्टीका आन्तरिक विषयहरुमाथि हतारिएर सामाजिक सञ्जालमा टिप्पणी गरिहाल्ने नेता पनि होइनन् ।

राप्रपाभित्र लामो समयदेखि दुई गुटको अन्तरसंघर्ष चलिरहेको छ । गत महाधिवेशनमा राजेन्द्र लिङदेनलाई अध्यक्ष बन्न सघाएका धवलशम्शेर राणाले अहिले संस्थापनइतर गुटको नेतृत्व गरिरहेका छन् । केही समय अगाडि आपसी सुलह गरेर आन्तरिक विवादलाई सामसुम पारिएको थियो । राप्रपा एकतावद्ध देखिएरै चुनावमा गयो । तर, चुनावी परिणाममा निराशा हात लागेसँगै अन्तरकलह फेरि ब्यूँतिएको छ ।

गत आइतबार महामन्त्री राणाले संस्थापन पक्षको भेला डाके, जसमा यसअघि नउठेका आवाजहरु सुनिए । पार्टीका केही नेताले खुलेरै राप्रपाको औचित्य सकिएको र नयाँ पार्टी गठन गर्नुपर्ने बताए । त्यसमध्ये एक थिए महामन्त्री प्रल्हाद साह । चुनावअघिसम्म राप्रपाको संस्थापन पक्षमा रहेका साह पहिलोपटक इतर पक्षको बैठकमा सहभागी भएका थिए ।

उनले खुलेरै भने, ‘अब राप्रपामा बसेर काम छैन । नयाँ पार्टी बनाउनुपर्छ ।’ उक्त भेलापछि एउटा पत्र अध्यक्ष लिङदेनलाई इमेल गरियो, जसमा मुख्य माग छ–केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने र महाधिवेशन गराउन ‘निष्पक्ष’ व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने ।

अल्टिमेटमकै शैलीमा प्रस्तुत गरिएको मागलाई अध्यक्ष राजेन्द्र लिङदेनले भने कुनै टेरपुच्छर लगाएका छैनन् । उनी शान्तिपूर्ण तरिकाले संस्थापनइतर पक्षका गतिविधि नियालिरहेका छन् । संस्थापनइतरले दिएको एक हप्ताको अल्टिमेटम आइतबार सकिनेछ । अध्यक्ष लिङदेननिकट स्रोतका अनुसार उनीहरुले अघि सारेको माग पूरा हुने सम्भावना छैन ।

‘निस्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने’ मागलाई लिङदेनको विकल्प खोजिएको अर्थमा संस्थापन पक्षले बुझेको छ र सत्य पनि त्यही नै हो । संस्थापनइतरका केही नेताहरुले नयाँ पार्टी खोल्ने गृहकार्य भएको दावी समेत गरेका छन । एक केन्द्रीय सदस्यले भने, ‘यही तरिकाले राप्रपा अब उँभो लाग्ने छाँट देखिएन । चुनाव परिणामबाट हामी सबै निराश छौं ।

अब यो पार्टीमा बसेर केही उपलब्धी हुँदैन भन्ने निस्कर्षमा धेरै नेताहरु पुगेका छन् ।’ ती केन्द्रीय सदस्यको भनाइअनुसार अहिले राप्रपाभन्दा बाहिर रहेका राजावादी नेताहरुसँग डा। राणाले छलफल गरिरहेका छन् । दुर्गा प्रसाईंसँग पनि छलफल भएको उनले पुष्टि गरे । ‘उहाँसँगको छलफल सकारात्मक छ । उहाँ पनि एउटा पार्टी चाहिने रहेछ भन्ने निस्कर्षमा पुग्नुभएको छ,’ ती केन्द्रीय सदस्यले भने ।

प्रसाईंबाहेक केशरबहादुर बिष्ट, पशुपति खड्कालगायतका राजावादीहरुसँग पनि संवाद भइरहेको उनले जानकारी दिए । राप्रपाबाहिर रहेका सबै राजावादीहरुलाई समेटेर कडा पार्टी बनाउन सकिएमा अर्को चुनावसम्म जनतामा आकर्षण पैदा गर्न सकिने यो पक्षको विश्वास छ । यद्यपि, डा. राणा भने सकेसम्म राप्रपालाई नै ‘सुधार्ने’ पक्षमा रहेको पनि बताइन्छ ।

राप्रपामा लिङदेन नेतृत्वको कार्यसमितिको नियमित कार्यकाल सकिएर अहिले अतिरिक्त कार्यकालमा चलिरहेको छ । पार्टीले जेठभित्र महाधिवेशन गर्ने भने पनि अहिलेसम्म मिति तोकिएको छैन । अध्यक्षले जेठमा पनि महाधिवेशन नगर्ने र थप एक वर्ष कार्यकाल लम्ब्याउने चेष्टा गरिरहेको आशंका संस्थापन इतर नेताले गर्न थालेका छन् ।

एक नेता भन्छन्, ‘जेठमा महाधिवेशन गर्नुपर्नेमा अहिलेसम्म मितिसमेत तोकिएको छैन । यतिबेला पार्टीले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भनेर विज्ञप्ति आयो । यो अल्मल्याउने र महाधिवेशन पर धकेल्ने चाल मात्र हो ।

यदि अर्को बैठकबाट महाधिवेशनको मिति तोकिएन भने राप्रपाको विभाजन टार्न मुस्किल छ ।’ राप्रपा प्रवक्ता श्रेष्ठ भने महाधिवेशन टार्ने कुनै मनसाय नेतृत्वले नलिएको बताउँछन् । अर्को पक्षलाई भन्दा आफूहरुलाई महाधिवेशन चाँडो चाहिएको उनको दावी छ । श्रेष्ठले भने, ‘गिजोलिएको मन र चुनावमा काम नलाग्ने संयन्त्र बोकेर पार्टी अगाडि बढ्न सक्दैन ।

अध्यक्ष लिङदेन महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसक्नु भएको छ । उहाँहरुलाई भन्दा हामीलाई हतार छ ।’ पार्टीको कार्यसम्पादन वैठकले कार्यसमित वैठक बोलाउने र उक्त वैठकले महाधिवेशनको कार्यक्रम पारित गर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us