काठमाण्डू, ४ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन ।
पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए । उनी ३० मिनेट जति बसेको बताइएको छ । एमाले सचिव पद्मा अर्यालले दाहाल ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताइन् । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड–ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
‘उहाँ आउनुभएको हो स्वास्थ्यलाभको कामना गर्नुभयो थप विषय त मैले पनि बुझ्नु पर्छ’, अर्यालले भनिन् । नेकपा र एमालेका केही नेताको छलफलपछि ओली–प्रचण्डको संवाद भएको स्रोतको दाबी छ ।
त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए । नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेको बताइन्छ ।
उनीहरुबीच करिब ४ घण्टा छलफल भएको थियो । त्यसपछि प्रचण्ड ओलीलाई भेट्न पुगेको स्रोतले जानकारी दिएको छ ।