हिमालय टेलिभिजन र अनलाइनखबरको समूह सम्पादकमा उमेश चौहान

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, ४ वैशाख– नेपालको अग्रणी सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्क र अनलाइनखबर डटकमको समूह सम्पादकमा पत्रकार उमेश चौहान नियुक्त भएका छन ।

यसअघि बेग्लाबेग्लै र स्वायत्त संस्थाका रूपमा सञ्चालनमा रहेका हिमालय टेलिभिजन र अनलाइनखबरले अब ‘न्यूजरुम कन्भर्जेन्स’ मोडल अँगाल्दै समूह संरचनामा अघि बढ्ने निर्णय गरेको होे । दुवै संस्थाको सञ्चालक समितिको संयुक्त बैठकले चौहानलाई समूहको सम्पादकीय रणनीति निर्माण र कार्यान्वयनको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।

समूह सम्पादकका रूपमा चौहानले दुवै संस्थाको साझा सम्पादकीय रणनीति तयार गर्ने, न्यूजरुमबीच समन्वय स्थापित गर्ने, सहकार्य सुदृढ बनाउने तथा कन्टेन्ट इकोसिस्टमलाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन् ।

समूहका अध्यक्ष धर्मराज भुसाल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल, अनलाइनखबरका कार्यकारी निर्देशक सुरेश भुसाल, अनलाइनखबर डटकमका प्रधान सम्पादक बसन्त बस्नेत र हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थीसहित समग्र न्यूजरुमले चौहानलाई शुक्रबार स्वागत गरेका छन् ।

करिब अढाई दशकदेखि पत्रकारितामा सक्रिय चौहान छापा र दृश्य दुवै माध्यममा दख्खल राख्ने सञ्चारकर्मी हुन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका चौहानले यसअघि ‘नयाँ पत्रिका दैनिक’ मा सम्पादक र ‘कान्तिपुर दैनिक’ मा प्रधान सम्पादकका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us