सुनसरी-सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई पक्राउ गरिएको छ ।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।
झापाबाट गैँडाको खाग लिएर आउँदै गरेको सूचनाका आधारमा बर्जु–६ ताल नजिकैबाट चार जनालाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकाहरूको साथबाट एउटा गैँडाको खाग र दुईवटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको र उनीहरूको सञ्जालबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।