केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाण्डु टुडे २०८३ वैशाख ४ गते ७:४८ मा प्रकाशित

४ वैशाख- देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले अधिकांश स्थानमा आंशिक बदली देखिएको छ ।

हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी भेगमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातसमेत भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि यस्तै अवस्था देखिन सक्छ ।
आज राति हिमाली क्षेत्रसँगै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा तराई क्षेत्रका केही स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

देशका अधिकांश क्षेत्रमा तापक्रम क्रमशः बढिरहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अन्य स्थानको तुलनामा बढी गर्मी महसुस हुने सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us