काठमाण्डू, २ वैशाख– १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका व्यक्तिबाट अनुसन्धान सुरु गरेको प्रहरी १ अर्ब ३६ करोड रुपैयाँ बढी क्रिप्टो कारोबारको जालोसम्म पुगेको छ ।
गत ६ चैतमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालगञ्ज उपमहानरपालिका–२० सम्झना चोक घर भएका ३१ वर्षीय नरेश रेउलेलाई सामाखुसी चोकबाट पक्राउ गर्यो ।
क्रिप्टोको कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो । रेउलेले आफूले क्रिप्टोको कारोबार गर्न चाहने व्यक्तिको खोजी गर्ने र अर्को व्यक्तिलाई सम्पर्क गराउने गरेको प्रहरीसमक्ष बताए । यसरी सम्पर्क गराए वापत निश्चित रकम कमिसन लिने गरेको उनले बताएका थिए । उनीमार्फत ललितपुर महानगरपालिका–२५ नख्खु बस्ने ३२ वर्षीया दिप्ती पोखरेलसम्म प्रहरी पुग्यो ।
रेउलेले नै दिप्तीलाई भारतको पश्चिम बंगाल राज्य मेदिनीपुर मोयना थाना, उत्तर श्रीकण्ठ ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली भन्ने एसके, बसिर इकबालसँग सम्पर्क गराएका थिए । दिप्ती १० हजार यूएसडी ९अमेरिकन डलर० सटही गर्न इकबालकहाँ गएको सूचना रेउलेमार्फत प्रहरीले लियो । त्यसपछि प्रहरीले दिप्तीलाई १५ लाख ३० हजार नगदसहित सामाखुसीकै रेडनपुल नजिकबाट पक्राउ गर्यो ।
उनै दिप्तीलाई सोधपुछ गरेपछि प्रहरीले इकबाललाई ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको थियो । इकबाल पक्राउ परेपछि क्रिप्टो कारोबारको रहस्य खुलेको छ । उनले आफ्नो मोबाइलमा बिनान्स नामको क्रिप्टो टे«डिङ अकाउन्ट खोली यूएसडी जम्मा गरी कारोबार गर्ने गरेको प्रहरीले पत्ता लगायो ।
उनको ‘अकाउन्ट हिस्ट्री’ हेर्दा १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० नेपाली रुपैयाँ कारोबार भइसकेको भेटिएको अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए । करिब डेढ अर्बको क्रिप्टो कारोबार गर्ने इकबाल विगत २८ वर्षदेखि नेपालमा बस्दै आएका थिए । सामाखुसीमा अली बाबा सर्भिसेस नामक सर्भिस कम्पनी खोलेर उनी काम गर्दै आएका थिए ।
यही कम्पनीमा काम गर्ने दिप्तीलाई उनले क्रिप्टोको कारोबारमा लगाएको पाइएको छ । प्रहरीका अनुसार अहिले पक्राउ परेका तीन जना एक आपसमा मिलेर अवैध क्रिप्टोको कारोबार गर्ने गरेको पाइएको छ । बयानका क्रममा एकले अर्कोलाई दोषारोपण गरे पनि तीनै जनाको संयुक्त मिलेमतोमा क्रिप्टोको कारोबार भएको प्रहरीको दाबी छ ।
यो प्रकरणमा अनिल घिमिरे नाम गरेका अर्का व्यक्तिको पनि संलग्नता रहेको प्रहरीले बताएको छ । पहिचान र वतन नखुलेका ती व्यक्तिविरुद्ध अहिले मुद्दा दर्ता भएको छ । खुलेको बखत मुद्दा दर्ता हुने बताइएको छ ।