संसद् पुग्यो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन

काठमाण्डु टुडे २०८३ वैशाख २ गते १७:३८ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । उनका अनुसार अब उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहेने छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।

जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले कार्कीको नेतृत्वमा ५ असोज २०८२ मा तीन सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी थिए । आयोगले २४ फागुन २०८२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले नै यो प्रतिवेदन सार्वजनिक गर्ने भनेको थियो । आयोगले गरेका कतिपय सिफारिस वर्तमान सरकारले कार्यान्वयनमा समेत लगिसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस भएको थियो । त्यसअनुसार दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अदालतको आदेशबाट दुवै जना रिहा भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us