समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाण्डु टुडे २०८३ वैशाख २ गते १३:०८ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई स्पष्टीकरण सोध्न तयारी गरेको हो । केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने तयारी रहेको कांग्रेसका एक शीर्ष नेताले जानकारी दिएका छन ।

खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो ।

१८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए ।

त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us