रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८३ वैशाख २ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, २ वैशाख– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्ने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

यसअनुसार बिहीबार सभापतिहरूमा मनोनयन दर्ता हुन लागेको हो । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् ।

दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी नै रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us