काठमाण्डू, १ वैशाख– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचाकल कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार रहेको प्रहरीले जनाएको छ ।
कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचाकल दनुवार गम्भीर घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए । उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारको क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।