काठमाण्डू, ३० चैत– समाज कल्याण परिषद्को मातहतमा रहेको भृकुटीमण्डपमा सञ्चालित निजी व्यवसायीको पसल, संघसंस्था एवं पुस्तकालयमा आज (सोमबार) भाडा नतिरेको भन्दै ताला लगाइएको छ । ताला लगाउने क्रममा अन्यको हकमा भन्दा काठमाण्डू उपत्यकाका सार्वजनिक पुस्तकालयको दृथ्य भिन्न रह्यो ।
समाज कल्याण परिषद्का सदस्य सचिव सरोजकुमार शर्माको नेतृत्वमा दलबल सहित पुस्तकालयमा ताला लगाउन पुगेको थियो । सुरक्षाकर्मी सहित समाज कल्याण परिषद्को टोली ताला लगाउन पुस्तकालय छिरेको थियो । सुरक्षाकर्मी सहित ठूलो संख्यामा पुस्तकालय कक्षमा प्रवेश गरेपछि पाठकहरू आक्रोशित र भयभित भए ।
विद्यालय तह, उच्च शिक्षा अध्ययन गर्ने करिब दुई दर्जन पाठक पुस्तकालयमा थिए । शान्त वातावरणमा अध्ययन गरिरहेका उनीहरूले सुरक्षाकर्मी सहित ठूलो दलबल देखेपछि आक्रोशित बने । शान्त वातारण हुने पुस्तकालयभित्र एकाएक हो–हल्ला सुरु भयो । भाडा उठाउनका लागि सरकारले गुन्डागर्दीशैली अपनाएको भन्दै केही पाठकले आक्रोश पोखे ।
भयभित स्वरमा आक्रोशित एक जनाले भने,‘पढिरहेको बेला किन आउनुभएकोरु गुन्डागर्दीको शैलीमा । भोलि हाम्रो परीक्षा छ । पढ्न लागेका बेला हामीलाई उठाएर भाडाको समस्या समाधान हुन्छ ? पाठकलाई टर्चर दिने ? व्यवस्थापकसँग कुरा गर्नू ? भाडा दोस्रो कुरा हो । पढाइ पहिलो कुरा हो ।’ पुस्तकालयका पाठकहरू आक्रोशित बनेपछि समाज कल्याण परिषद्का कर्मचाहरू बाहिर आए ।
पुस्तकालयको गेटमा समाज कल्याण परिषद्का सदस्य सचिव सिंहले पुस्तकालयका व्यवस्थापक लिला भट्टराईलाई भाडा तिर्न ताकेता गरे । उनीहरू बीचमा केही समय भनाभन भयो ।