काठमाण्डू, ३० चैत– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिंढी संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन ।
आज (सोमबार) नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले यस्तो बताएका हुन । उनले आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्ने विश्वास व्यक्त समेत गरेका छन ।
शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले भने, ‘राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।’ साथै, उनले वितेका केही वर्ष विकासका दृष्टिले देश झनै कमजोर भएकोप्रति चिन्ता समेत व्यक्त गरेका छन ।
उनले भनेका छन, ‘वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्यौं, ‘तर त्यो कोरा परिवर्तनमात्रै भयो ।
दलदलको खलबलमा हामी धेरै दगुरियौं । तर राष्ट्रको श्री वृद्धिमा हामी निकै पछि पर्यौं । सधैं प्रयोग, अभ्यास र विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।’