काठमाण्डू, ३० चैत– सरकारले हिजो सार्वजनिक गरेको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक चर्चा र बहसको बिषय बनेको छ । सम्पत्ति विवरण हेर्दा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरू एक से एक धनाढ्य देखिएका छन् ।
बालेन सरकारका धनाढ्यमध्येका एक हुन् गृहमन्त्री सुदन गुरुङ । आफैँले पेश गरेको विवरण अनुसार उनले सुनचाँदीदेखि घरजग्गासम्म ठूलो परिमाणमा जोड्न भ्याइसकेका छन् । उनले आफूसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन । गुरुङको जग्गा जमिनको हिसाब हेरेर धेरैले जिब्रो टोकेका छन् ।
सम्पत्ति विवरण अनुसार गोरखामा मात्रै उनको २२१ रोपनी जग्गा छ । यो जग्गा आफ्नो पैतृक भएको र हजुरबाको नाममा रहेको गुरुङले जनाएका छन् । यस्तै, चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा बुवाको नाममा रहेको छ । गुङको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा पनि छ । गृहमन्त्रीको सेयर पोर्टफोलियो पनि उत्तिकै बलियो छ ।
उनले विभिन्न कम्पनीमा ४ करोड ३० लाख बराबरको सेयर लगानी गरेका छन् । तीन वटा बैंक खातामा ६२ लाख रूपैयाँभन्दा बढी बचत छ । गुरुङले आफ्नो सम्पत्तिको स्रोतमा पैतृक र व्यवसाय उल्लेख गरेका छन् । के व्यवसाय भनेर चाहिँ खुलाएका छैनन् । यति कम उमेरमै के व्यवसाय गरेर यत्रो सम्पत्ति आर्जन गरे भनेर सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाइरहेका छन् ।
आफूमाथि प्रश्न उठेपछि गुरुङले सामाजिक सञ्जालबाटै जवाफ दिएका छन् । उनले फेसबुक स्टोरीमा लेखेका छन्, ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरीब मर्नु त्यो तिम्रो गल्ती हो ।’ उनले ‘चेतना भया’ ह्यासट्याग राख्दै थप लेखेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो ।’
उनले स्टोरीको ब्याकगाउण्ड गीतको छनोट चाहिँ उदेकलाग्दो छ । उनले ‘के पाइस् नेपाली केरा’ बोलको गीतलाई स्टोरीको ब्याकग्राउन्डमा राखेका छन् ।