देशभर आंशिक बदली, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डु टुडे २०८२ चैत २८ गते ९:३९ मा प्रकाशित

काठमाडौं — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।

यसको असरका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित अधिकांश हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ ।

अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ ।

साथै पहाडी भू–भाग र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।
पूर्वानुमानअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने चेतावनी दिइएको छ ।
आज राति भने हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थान तथा कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us