गलत नम्बरमा फोन जाँदा विवाद, आवेशमा दाजुभाइको हत्या

काठमाण्डु टुडे २०८२ चैत २६ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, २६ चैत– ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ । झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ ।

उनीहरू सहोदर दाजुभाइ हुन् । इमाडोलमा पनि उनीहरूको घर छ। पाटन दरबार स्क्वायर क्षेत्रमा घुम्न जाँदा त्यसअघि कहिल्यै नभेटेका युवकले उनीहरूलाई छुरा प्रहार गरेका हुन् ।

गलत नम्बरमा फोन जाँदा विवाद बढेपछि छुरा प्रहार गरेर उनीहरूको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चैत २५ मा मध्याह्न १२ बजेतिर नेम्बाङ दाजुभाइ र अरू दुई जना पाटन र मङ्गलबजार क्षेत्रमा घुम्न गए। सँगै जानेमा काका नाता पर्ने एक जना रहेका थिए । घुम्ने क्रममा दाजु सुमितले एक जना साथीलाई फोन गर्छन् ।

साथीलाई फोन गर्दा गलत नम्बर डायल भएर सञ्जीव नेपाली ‘सञ्जु’ को नम्बरमा फोन पुग्छ । सञ्जीव ललितपुर महानगरपालिका–९ स्थित भोलढोकामा बस्छन् । नचिनेको मान्छेले फोन गरेपछि सञ्जीवले निहुँ खोज्छन् । दुई जनाको बिचमा विवाद सुरु हुन्छ । त्यसपछि पटक–पटक उनीहरूको बिचमा विवाद भएपछि एकअर्कालाई गाली गर्न थाल्छन् ।

साँझ ७ बजेपछि सञ्जीवले फोन गरेर सुमितलाई सोध्छन्, ‘तँ कहाँ छस् ?’ सुमितले जवाफ दिए, ‘मङ्गलबजारमा छु।’ सञ्जीव स्कुटर लिएर मङ्गलबजारतर्फ आउँछन् । सञ्जीवले स्कुटरमा नवलपरासी घर भएका २१ वर्षीय गगन सुनारलाई लिएर आए । सुनार ललितपुर–८ स्थित सुबहालमा बस्छन् । कृष्ण मन्दिर परिसरमा उनीहरूको बिचमा भेट भयो ।

फोनमा भएका कुराबारे पुनः विवाद सुरु भयो । मन्दिरको सिँढीमा बसेर विवाद मिलाउने भन्दै उनीहरू कृष्ण मन्दिर परिसरको सिँढीमा उक्लिन्छन् । छलफलको क्रममा फेरि भनाभन हुन्छ । विवाद बढ्दै गएपछि सञ्जीवले आफूसँग भएको मासु काट्ने छुरा निकाल्छन् । सञ्जीवले छुरा निकालेपछि सुमितले उनको हात समातेर मुखमा पन्च हान्छन् ।

झगडा गर्दै उनीहरू दुई सिँढी तल झर्छन् । तल ओर्लिने क्रममा सञ्जीवले सुमितको पेटमा छुरा प्रहार गरेका थिए । दाइलाई छुरा हानेपछि भाइ सृजनले बचाउने प्रयास गरे। तर, सृजनको पनि घाँटी र पेटमा उनले छुरा प्रहार गरेका थिए । त्यसपछि दाजुभाइ नै घाइते भएर कृष्ण मन्दिर परिसरमा ढले । सँगै घुम्न गएकाहरूले प्रहरीलाई खबर गरे। घटना भएको सूचना पाएको ३ मिनेटभित्र प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

हत्यामा संलग्न सञ्जीव भोलढोकामा मासु पसलमा काम गर्थे । भागेर रेस्टुरेन्टभित्र छिर्न खोजेको अवस्थामा एक जना प्रहरी जवानले उनलाई नियन्त्रणमा लिएका हुन् । नेम्बाङ दाजुभाइलाई प्रहरीले उपचारका लागि बी एन्ड बी अस्पताल पठाएको थियो। अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको हो । ७ बजेर ४० मिनेटमा सो घटना भएको र तत्काल घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरिएको एसएसपी बोगटीले जानकारी दिए ।

उनले भने, ‘आवेश र उत्तेजनाका कारण यो घटना भएको देखिन्छ।’ सुमित लन्डन जाने तयारीमा थिए । तर, गलत नम्बर डायल गरेर अनावश्यक विवादमा पर्दा उनको लन्डन यात्रामा सधैँका लागि पूर्णविराम लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us