काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने राप्रपाको तयारी छ ।
लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।
त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए । यसअघि रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । ‘आज पनि कुरा भएको छ ।
रास्वपाले समर्थन गर्ने संकेत दिएको छ’ राप्रपाका एक शीर्ष नेताले भने,’हामी पार्टीमा अब छलफल गरेर टुंगो लगाउँछौं ।’ पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम लगेको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।