काठमाण्डू, २६ चैत– कांग्रेस र एमाले उपसभामुख पदमा उम्मेदवारी दिने कि नदिने भनेर छलफलमा जुटेका छन । प्रतिपक्षमा रहेका दलहरूसँग संवाद जारी रहेको एमालेका सांसद गुरुप्रसाद बरालले जानकारी दिए ।
‘उपसभामुख प्रतिपक्षको अधिकारको विषय पनि हो । यसकारण हामी प्रतिपक्षमा रहेका दलहरूसाग संवादमा छौं’, सांसद बरालले भने । उनका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीसँग संवाद भएको छ ।
तर, कसरी अगाडि जाने भनेर टुंगो लागेको छैन । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग समेत संवादको पहल गरिराखेको छ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले पनि आफूहरू छलफलमै रहेको जानकारी दिए ।
‘उपसभामुखमा उम्मेदवारी दिने वा नदिने के भयो’, भन्ने प्रश्नमा उनले भने, ‘छलफलमै छौं । केहीबेरमा एउटा टुंगोमा पुग्छौं ।’ उपसभामुख पदमा उम्मेदवारी दिने समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म छ ।