
धरान, १३ असोज – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैनिक करिब २० लाख रुपैयाँका दरले हुने ३ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान दुईसातादेखि बन्द छ । साथै पूर्वका ४० हजार विरामी प्रभावित भएका छन् ।
पटकपटक भइरहने कर्मचारी आन्दोनकै कारण प्रतिष्ठान इतिहासमै सवैभन्दा बढी अस्तव्यस्त भएको हो । बिरामीको उपचार गर्ने प्रतिष्ठान आफै सघन उपचार कक्षमा पुगेको छ । प्रतिष्ठानको संचालक परिषदको गत भदौ ३० गते बसेको ३६औं बैठकले कर्मचारीको माग सम्बोधन नगरेको भन्दै कर्मचारी कल्याण समाज र समाजबाट बाहिर भएका कर्मचारीको अर्को समुहले एकसाथ तालाबन्दी र ओपिडी सेवा, शैक्षिक सेवा बन्द गरेका थिए ।
समाज र कर्मचारीका समुहले २५ प्रतिशत प्रोत्साहन भत्ता, सरकारले गत आर्थिक बर्ष ०७०र०७१ मा वृद्धि गरेको १८ प्रतिशत तलब, एकहजार रुपैया भत्ता, चालु आ।व। ०७१र०७२ मा वृद्धि गरेको १० प्रतिशत तलब, एक दिनको तलब बराबर वाषिर्क वृद्धि (ग्रेड०, करार सेवा बाटै सेवा अवधि गणना, कर्मचारीहरुलाई प्रशासनिक र प्राविधिक समूहमा वर्गिकरण, २ सय १० दिन संचित घरविदा, शैक्षिक कोटा, जोखिम भत्ता लगायतका मागहरु राखेर आन्दोलनमा उत्रेको छ ।
अस्तव्यस्त भएको प्रतिष्ठान सञ्चालन गर्न र कर्मचारीको माग सम्बोधन गर्न दुइसातामा दुई दुई वटा आयोग समेत बनेका छन् । तर आयोगसँको पटकपटकको वार्ता असफल भएपछि प्रतिष्ठान आर्थिकरुपमा जर्जर अवस्थामा पुगेको छ ।