एमाले उपाध्यक्ष पौडेलको अपिलः नीति, नेतृत्व र कार्यशैली फेरौं

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– एमाले उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेलले एमालेको नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनःगठन गर्न अपिल गरेका छन् ।

रुपन्देही–२ मा एमालेको तर्फबाट उम्मेदवार भएर पराजितसमेत भएका पौडेलले आज (सोमबार) विज्ञप्तिमार्फत यस्तो बताएका हुन । एमाले उपाध्यक्ष पौडेलले विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न तथा जनअपेक्षा अनुसार आफैँलाई रूपान्तरण गर्न अनुरोध समेत गरेका छन ।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही–२ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार्छु भनेका छन् ।

उनले यस निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै यस क्षेत्रका जनताका अपेक्षाअनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाउने आशा समेत गरेका छन ।

‘यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु’ उनले भनेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us