काठमाण्डू, २५ फागुन– झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन ।
प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् ।
हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई नियन्त्रणमा समेत लिएको छ । मेयर सुवेदीको जाहेरीपछि पक्राउ परेका व्यक्तिमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका व्यक्ति केही समयअघि मात्रै जापानबाट फर्किएका थिए ।
मदिरा सेवनपछि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।