काठमाण्डु,१० असोज – ज्येष्ठ नागरिक संयुक्त तदर्थ समितिले आफ्ना माग पूरा नगरे दसैं तिहार पछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
ज्येष्ठ नागरिक संयुक्त तदर्थ समितिद्धारा शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित बडादसैं तथा दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा ज्येष्ठ नागरिकका अगुवा महाप्रसाद पराजुलीले आफ्ना उचित मागहरु यथाशीघ्र पूरा नगरे आफूहरु बाध्य भएर देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
समितिका प्रमुख चार मागमा मासिक तीन हजार भत्ता, सरकारी तथा निजी अस्पतालमा निशुल्क स्वास्थ्य परीक्षण, सार्वजनिक सवारी साधनमा कम्तीमा ५० प्रतिशत भाडा छुट र २०६७ चैतमा सर्वोच्चद्धारा जारी गरिएको परमादेश कार्यान्वयन गरिनुपर्ने छन् ।
कार्यक्रममा ज्येष्ठ नागरिकका अगुवा नेताहरुले आफूहरुको हरेक संघर्षका कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले साथ दिएको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनीहरुले धमलाले जस्तै अन्य पत्रकारहरुले पनि आफ्ना जायज मागलाई निरन्तर उठान गरे सरकारलाई दबाब पुग्ने विश्वा व्यक्त गरेका छन् ।
दुर्गाप्रसाद भट्टराई, कमल सेन्चुरी, श्रीकृष्ण थापा लगायत अगुवा नेताहरुले आ–आफ्नो धारणा राखेका छन् । उनीहरुले सरकारले आफ्ना जायज मागहरु पूरा नगर दशैं , तिहार तथा छठ जस्ता पर्वहरु लगत्तै सशक्त आन्दोलनमा उत्रने पनि उद्घोष गरेका छन् ।