किन पूरा भएन प्रचण्ड पत्निको गायिका बन्ने धोको ?

काठमाण्डु टुडे २०७१ असोज १० गते ५:२७ मा प्रकाशित

काठमाण्डु, १० असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिताको एकल गिती एल्बम स्मिता–२ को राजधानीमा बिहीबार भव्य sita-prachandaविमोचन भयो ।
स्मिताले यसै वर्ष निधन भएकी ठूली आमा ज्ञानुप्रति समर्पित गर्दै आफ्नो दोश्रो एल्बम बजारमा ल्याएकी हुन् । संगीतकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा स्मिताका हजुरबुबा प्रचण्डसहित एमाओवादी नेता बाबुराम भट्टराई, अग्नि सापकोटा, नेतृ हिसिला यमी नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, एमाले नेता माधव नेपाल, काँग्रेस महामन्त्री कृष्ण सिटौला, नायक भुवन केसी, रेश मरहठ्ठा, गायकहरु रामकृष्ण ढकाल, दीप श्रेष्ठ, आनन्द कार्की, सत्य–स्वरुप आचार्य, प्रमोद खरेल, रामचन्द्र–जुना काफ्ले, कुन्ती मोक्तान, मिलन अमात्य, वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, संगीत गुरुका नामले चिनिने चन्द्रकुमार श्रेष्ठ, संगीतकारहरु चेतन सापकोटा, शिलाबहादुर मोक्तान, आलोक श्री, राजु सिंह, सुनील मास्के, हरि लम्साल, लक्ष्ममण शेष, पारस मुकारुङ, मिलन मोक्तान, महेश खड्का, वसन्त सापकोटा, गैरे सुरेशलगायत थिए । यी मध्ये केही मञ्चमा र अरु दर्शक दीर्घामा थिए ।

कार्यक्रमको हल दर्शकले भरिभराउ थियो । शुभकामना दिने सबैले स्मिताको गायकीको मुक्त कंठले प्रशंसा गरे र नेपाली संगीत क्षेत्रकी भविष्यकी आशालाग्दी गायिका भएको बताए । एमाले नेता नेपाल, नेकपा–माओवादी अध्यक्ष वैद्य, काँग्रेस नेता सिटौला, नायक केसी, गायक ढकाल र संगीतकार बरालले स्मिताको प्रशंसाका लागि कुनै कञ्जुस्याईं गरेनन् ।

अधिकांशले स्मितालाई नातिनी भनेर सम्बोधन गरेका थिए । केसीले आफ्नो आगामी चलचित्रमा स्मितालाई गीत गाउन दिने घोषणा गरे । गायक ढकालले अर्को एल्बममा स्मितासँगै गीत गाउने रहर लागेको बताए । मोहन वैद्यले जनवादी गीत पनि गाउन सुझाव दिए । सिटौलाले घुमाउरो पारामा जीवन रसमयी हुन्छ भन्ने कुरा हजुरबा प्रचण्डलाई सिकाउन स्मितालाई आग्रह गरे । माधव नेपालले नातिनीको एल्बम बजारमा आएकामा उनकी आमा गंगा, हजुरआमा सीता र हजुरबा प्रचण्ड मख्ख परेको  बताए । ‘मैले देखिरहेको छु, स्मिताका आमा बेलाबेलामा छोरीलाई हेरेर मुस्कान छोडिरहनु भएको छ, सबैभन्दा मख्ख त हजुरआमा हुनुहुन्छ, प्रचण्डजीको त कुरै भएन, जहिले पनि मख्ख पर्ने मान्छे, आज त झन मख्ख ।’ नेपालले यसो भन्दा हल हाँसोमा गुञ्जियो । त्यो भन्दा पनि प्रचण्ड जोडले कुम हल्लाएर हाँसेका थिए ।

मोहन वैद्यपछि बोल्ने पालो आयो प्रचण्डको । जब प्रचण्ड मञ्चमा उभिए तब जेठी छोरी ज्ञानु सम्झेर भक्कानिए । त्यसको कारण थियो स्मिताको एल्बममा ‘दिवंगत ठूलो ममीप्रति समर्थित’ लेखिनु । बोल्ने क्रममा प्रचण्डको केहीबेर रोकिए । उनले आफूले जनयुद्धका बेला हाँदाहास्दै रुने र रुँदारुँदै हास्ने गरेको सम्झिँदै अहिलेको प्रसंगलाई उतिबेलाकै घटनासँग जोडे ।
प्रचण्ड भक्भानिएपछि शान्त बनेको हल केहीबेरमै हाँसोले जुञ्जियो । बोल्दै जाँदा उनले आफूले गाली मात्र खाने राजनीतिमा हरेको र नातिनीले एकोहोरो तालीमात्र खाने सांगितीक क्षेत्र रोजेको बताएपछि कार्यक्रम हाँसोमय बन्यो ।  ‘राजनीति भनेको ताली र गाली दुवै खाइने क्षेत्र हो ।  स्मिताले सुरु गरेको क्षेत्र ताली नै ताली खाने क्षेत्र हो, उनले भने, ‘ उनी ताली खाइराख्ने छिन् म ताली र गाली हुँदै अघि बढ्छु ।’
स्मिताले आफूलाई प्रचण्डको नातिनी होइन, आफू स्मिताको हजुरबा भनेर चिनाउन सकुन् भन्ने कामना उनले गरे । प्रचण्डले आफूहरु युद्धका बेला स्मिताको घर दार्जिलिङ जाँदा २ वर्षकै उमेरमा गीत गुन्गुनाउने गरेको चर्चा गर्दै उनको गायकी ‘गड गिफ्ट र वंशाणुगत गुण’ भएको बताए ।  यद्यपि आफूहरु कम्युनिष्ट भएकाले भगवानमा विश्वास नगर्ने प्रष्ट्याए । उनले यसो भन्दा हलबाटै एक महिला आवाज आयो, ‘तपाईं पनि एउटा कलाकार त हो नि ?’

त्यसको जवाफमा उनले आफूले सानैदेखि गाउने र नाच्ने गरेको सुनाए । तर आफूभन्दा पनि श्रीमती सीतामा गायक हुने क्षमता रहेको उल्लेख गरे । उनले वातावरण पाएको भए सीतामा राम्रै गायिका हुने क्षमता रहेको बताए । स्मितामा हजुरआमाबाट गायकीको वंशाणु सरेको पुष्टि गर्न प्रचण्डले यो भूमिका बाँधेका थिए । ‘मेरो पनि गाउने र नाच्ने कुरामा पहिल्यैदेखि रुची थियोख, प्रचण्डले भने, ‘मभन्दा पनि मेडम (सीता) ले वातावरण पाएको भए राम्रंै गायिका हुने थिइन्, अझै पनि उनी राम्रो गाउन सक्छिन् ।’ प्रचण्डले यति भनिसक्दा हल हाँसोले उचालिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us