पृथ्वीनारायणको एकीकरण प्रक्रिया सही: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असोज १० गते १:५५ मा प्रकाशित

Prachand-1काठमाण्डु, १० असोज– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पृथ्वीनारायण शाहको राज्य एकीकरण प्रक्रिया सही भएको बताएका छन् ।

जातीय मोर्चा प्रमुख गोपाल किराँतीले शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको पक्षमा प्रदर्शन गर्ने बताएको केही दिनपछि दाहालले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले तत्कालीन अवस्थामा शाहको एकीकरण उचित भएको उल्लेख गर्दै अब नयाँ आधारमा राष्ट्रिय एकता हुनुपर्ने बताए । ‘मैले जनयुद्ध सुरु गर्ने बेला पृथ्वीनारायण शाहका फौजी र राजनीतिक दस्तावेज अध्ययन गरेको थिएँ ।

पृथ्वीनारायण शाहले विकासको अवरोधका रुपमा रहेको २२ र २४ राज्यलाई एकीकरण गरी ठीक काम गरेका हुन् । त्यो एकीकरण समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले ठीक  भए पनि अब त्यो राष्ट्रिय एकता पुरानो भएको छ’, पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा दाहालले भने, अब हुने राष्ट्रिय एकता समानतामा आधारित हुनुपर्छ ।’

शाहको मुलुक एकीकरणलाई गोरखा घर भएका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पनि सकारात्मक बताइसकेका छन् । राजतन्त्र अन्त्य भएको करिब छ वर्षपछि एमाओवादीले पृथ्वीनारायणलाई सम्झेको हो ।

दाहालले परिवर्तन सिंहदरबारबाट नभई झुपडीबाट आएको उल्लेख गर्दै संघीय गणतन्त्र संस्थागत गर्न राष्ट्रिय एकताको खाँचो रहेको जनाए । उनले संघीयताविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसलाई असफल बनाउन संसदभित्र मोर्चा बनाउन लागेको जानकारी दिए ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us