
काठमाण्डु, ९ असोज – क्षेत्र नम्बर ६ बैतडीले राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।
किर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले हराउँदै बैतडीले उपाधि हात पारेको हो।
टस हारेर व्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरको खेलमा ४९ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। बैतडीको मध्यम स्कोर बनाउन योगेन्द्र कार्कीले २५ तथा प्रेम तामाङले २३ र अरुण ऐरीले २० रन जोडेका थिए।
१ सय ५४ रनको विजयी लक्ष्य लिएर मैलानमा आएको पोखरा २३.५ ओभरमै अलआउट हुँदै ५७ रनमा खुम्चिएको थियो। पोखरालाई सस्तैमा समेट्ने क्रममा प्रेम तामाङले ३ वतथा योगेश्वर कार्की र धिरज जैरुले समान २-२ विकेट लिए। प्रेम तामाङ म्यान अफ दि म्याच बने।
पोखराका लागि खेमराज पौडेलले २१ रन तथा राजेश लम्सालले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। उपाधिसँगै बैतडीले २५ हजार पाएको छ भने पोखराले १५ हजारमा चित्त बुझाएको छ।
प्रतियोगिताको फेयर प्ले अवार्ड धनगढीले पाएको छ। बैतडीका प्रेम तामाङ प्लेयर अफ दि सिरिज भए।