लिंक क्लिक गर्दा बैंक खाताको पैसा गायब, ३ आरोपित पक्राउ

काठमाण्डु टुडे २०८२ कार्तिक २१ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, २१ कात्तिक– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका २६ वर्षीय आदित्य कुमार रहेको साइबर ब्यूरोले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा काठमाण्डू जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीहरूले फेसबुकमा विभिन्न बैंकको विज्ञापन देखाएर बोनस प्राप्त गर्न सर्भे लिंकमा क्लीक गर्नुहोस् भन्दै अनलाइन ठगी गरेको आरोप छ ।

उनीहरूले पठाएको लिंक क्लीक गरेपछि बैंक खाताको रकम अन्य खातामा ट्रान्सफर हुने गरेको साइबर ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

‘बोनस प्राप्त गर्न भनेर लिंक पठाउने, त्यो लिंकमा क्लीक गरेपछि पीडितको रकम आफ्नो खातामा यो गिरोहले ल्याउने गरेको देखियो’ एसपी अवस्थीले भने ।

ठमेलको छाँया सेन्टरबाट पक्राउ परेका आदित्य कुमारबाट क्यासिनो कार्ड, भारतीय एटीएम समेत बरामद भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us