काठमाण्डू, १९ कात्तिक– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सम्पत्ति शुद्धीकरणको कसुरमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
आफूविरुद्ध मुद्धा चलाउन र पक्राउ गर्न अस्वीकार गर्ने आदेश कर्मचारी सरकारले सरुवा गरेको दाबी ओलीले गरे ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुखलाई बोलाएर कार्कीले तीनपटकसम्म ‘केपी ओलीलाई मुद्धा लगाएर फसाउनुप-यो’, भनेको उनको दाबी छ । उनले आफूविरुद्ध मुद्धा तयार गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि पनि प्रधानमन्त्री कार्कीले दबाब दिएको बताए ।
‘प्रधानमन्त्रीले अख्तियारलाई बोलाउँदै, सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई तीनपटकसम्म बोलाएर केपी ओलीलाई मुद्धा लगाएर फसाउनुप-यो भन्नुभयो’, कान्तिपुर टेलिभिजनको फायर साइड’ कार्यक्रममा पत्रकार रुपेश श्रेष्ठलाई दिएको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘उनले मबाट यस्तो अपराध हुँदेन हजुर । केही नभएको ठाउँमा कसरी मुद्धा खडा गरौं । म एटा कर्मचारी हुँ । यस्तो गर्ने ममा कुनै आँट छैन । बरु कोही हिम्मतिलो छ र गैरकानूनी ढंगले चल्न तयार हुन्छ भने उसलाई जिम्म लगाइयोस् भनेपछि त्यो कर्मचारी हटाएर अर्को कर्मचारी ल्याइयो । कस्तो ल्याउनुभयो त्यो मलाई थाहा छैन ।’
त्यतिबेला महानिर्देशक सह–सचिव कृष्ण मैनाली थिए । आफू मातहत रहेको विभाग प्रमखुमा जेनजी आन्दोलनको ४ दिनअघि मात्र १९ भदौमा ओलीले मैनालीलाई ल्याएका थिए ।
वर्तमान सरकारले मैनालीलाई हटाएर सह–सचिव गजेन्द्रकुमार ठाकुरलाई पठाएको छ ।
साबिकमा ओलीले अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सारेको विभागलाई वर्तमान सरकारले गत ८ असोजमा पुनः अर्थ मन्त्रालयमै फिर्ता ल्याएको छ ।