
काठमाण्डु, २९ भदौ– १७ औं एसियाली खेलकुद प्रतियोगिता ‘एसियाड’ अन्तर्गत नेपालको यू– २३ फुटबल टोली आज इराकसँग ४-० ले पराजित भएकाे छ ।
दक्षिण कोरियाको इन्च्योनमा जारी खेलमा नेपालले खेल सुरु भएको चार मिनेटमै गोल खाएको थियो । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा थप गोल गर्दै ईराकले नेपालललाई थप दवाबमा राखेको थियो ।
एसियाडको औपचारिक उद्घाटन असोज ३ गतेदेखि हुने भए पनि खेल भने आजदेखि सुरु हुन लागेको हो । एसियाडमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाली टोली समूह ‘डी’ मा छ । उक्त समूहमा इराक, कुवेत र जापान परेका छन् ।
नेपाली टोलीका लागि इराक बलियो प्रतिद्वन्द्वी हो । नेपाल र इराकबीचको यो तेस्रो भेट हो । यसअघि २००१ मा काजकिस्तानमा भएको विश्विकप छनोट खेलमा नेपालको सिनियर टोली इराकसँग ४-२ गोलले पराजित भएको थियो ।
त्यसबाहेक गत वर्ष काठमाण्डुमा सम्पन्न एएफसी यू–१६ छनोट प्रतियोगितामा नेपालले इराकलाई २-२ गोलको बराबरीमा रोकेको थियो । फिफा बरियतामा इराक ९१ औं र नेपाल एक सय ६६ औं स्थानमा छ ।
नेपालले इराकपछि असोज १ मा कुवेतसँग र असोज ५ गते जापानसँग खेल्नेछ।
एसियाडमा फुटबलतर्फ २९ राष्ट्रको सहभागिता रहनेछ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले आफ्नै खर्चमा एसियाडमा सहभागिता जनाएको हो ।
एसियाडको प्रदर्शनबाट नेपालले सन् २०१५ मा आयोजना हुने विश्वंकप छनोट, एसिया कप छनोट र साफ च्याम्पियनसिपजस्ता प्रतियोगितामा फाइदा पुग्ने लक्ष्य लिएको छ ।