च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदैछः घनश्याम भुसाल

काठमाण्डु टुडे २०८२ साउन ६ गते १५:५४ मा प्रकाशित

काठमाण्डू ६ साउन– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसप्रति कटाक्ष गरेका छन ।

एकीकृत समाजवादीका महासचिव भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिन भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेकोप्रति कटाक्ष गरेका हुन् ।

आज (मंगलबार) पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएका हुन । उनले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको बहस उठाउँदा पनि सुनुवाई नभएकोमा असन्तुष्टि ब्यक्त गरे ।

नेतृत्व परिवर्तनको बहस उठिरहेको भन्दै उनले भने, ‘हाम्रो आन्दोलनको नेतृत्व अझै के भन्छ भने, अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नु, अर्कोले लजाइलजाइ बीसै वर्ष त होइन, १०–१५ वर्ष चैं मैले अरुलाई तयार गर्छु तर छोड्दिन्छु ।’

एमालेको सचिवालय बैठक र केन्द्रीय समिति बैठकमा पार्टीका थुप्रै नेताहरुले अझै पनि अध्यक्ष ओलीको विकल्प नरहेको बताएकोप्रति भुसालले कटाक्ष गरेका हुन् ।

‘एउटा जमात यस्तो च्यालेन्ज गर्दैछ, अर्को जमात आजै त्यता च्यासलतिर १० वर्ष, २० होइन, तिमी आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतार्दैछ, यो कस्तो विरोधाभास हो’, भुसालले प्रश्न गरेका छन् । जनवादी आन्दोलनका नेतृत्वकर्ताहरुको स्मरण गर्दै भुसालले नेपालका हकमा कम्युनिष्ट आन्दोलन सर्वश्रेष्ठ भौतिक आन्दोलन भएको तर्क गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us