काठमाण्डू ६ साउन– सत्ता घटक दल एमालेलाई प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमा कुलिङ अफ रिपरियडबारे पार्टीको धारणा के हो स्पष्ट गर्न आग्रह गरेको छ । आज (मंगलबार) बसेको राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद रेणु चन्दले एमालेलाई यस्तो आग्रह गरेकी हुन ।
सरकारी कर्मचारीलाई अवकाशपछि २ वर्ष संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति दिने सम्बन्धी कुलिङ पिरियडको प्रावधानमा एमाले एकमत रहेको महसुस हुन नसकेको पनि बताएकी हुन । ‘यही रोष्ट्रमबाट केही दिन अगाडि सूचना प्रविधि तथा सञ्चारमन्त्रीले निजामती विधेयक पेस गर्दा भन्नुभयो– भाइरस पस्यो ।
राष्ट्रिय सभाले ठीक गरिदिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो’ चन्दले स्मरण गरिन् । प्रतिनिधिसभाबाट पारित भएर गएको निजामत सेवा विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ३१ असारमा राष्ट्रिय सभामा पेश गरेका थिए । त्यसक्रममा उनले कुलिङ पिरियडको पक्षमा वकालत गरेका थिए ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियडको अवधिबारे बहस हुँदा सुरुमा एक वर्ष राख्ने कि दुई वर्ष राख्ने भन्ने बहस भएको उनले स्मरण गरेका थिए । अन्तिममा २ वर्ष कुलिङ अफ पिरियड राख्ने गरी राज्य व्यवस्था समितिले अगाडि बढाएको स्मरण गर्दै मन्त्री गुरुङले भनेका थिए, ‘तर त्यहाँ एक्सिडेन्ट भयो । भाइरस पस्यो भन्नु पर्यो ।
त्यो भाइरसलाई फाल्ने काम यो राष्ट्रिय सभाको हो ।’ सञ्चारमन्त्री गुरुङको यही अभिव्यक्तिमा टेकेर माओवादी सांसद चन्दले एमालेमा कुलिङ पिरियडलाई लिएर एकमत नरहेको शंका लागेको बताएकी हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीको पार्टीको माननीयज्यूहरूले कुलिङ अफ पिरियडबारे जो संशोधन राख्नुभएको छ । यो भाइरस अब कताबाट पस्यो भन्ने बुझ्न गाह्रो भएन,’ चन्दले भनिन् ।