काठमाण्डू, ५ साउन– महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको छैन । यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेस्ट हाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै महिला साथी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले यादवले जानकारी दिएका छन ।
शनिबार राति ९ बजेर ५० मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसिटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्मे अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ ।
त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद रहेको उनले जानकारी दिए । आइतबार बिहान पौने ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा आरोपीमाथि नै अनुसन्धान केन्द्रित रहेको जानकारी दिए ।