काठमाण्डू, ५ साउन– च्यासलमा जारी एमालेको केन्द्रीय कमिटीको बैठकमा एमाले गण्डकी प्रदेशका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनीहरूले पार्टीको सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत भएर पारित भएको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने तर्क गरेका छन ।
उनीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा प्रवेश गर्नु पार्टीकै लागि क्षति हुने तर्क समेत गरेका छन । गण्डकी प्रदेशबाट प्रदेश अध्यक्षसमेत रहेका नवराज शर्मा, केन्द्रीय सदस्यहरू राजीव पहारी, इन्द्रलाल सापकोटा, पदम गिरी, सूर्य पाठक, रामशरण बस्नेत लगायतले बोलेका थिए ।भण्डारीको राजनीतिक सक्रियतासँगै पार्टीमा पक्ष र विपक्षमा बहस भइरहेको छ ।
सोही विषयले केन्द्रीय कमिटी बैठक पनि तताएको हो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘बोल्नेमध्येका अधिकांश सदस्य ओलीकै पक्षमा छन् ।’ भण्डारीले सक्रिय राजनीतिको सुरुवात गण्डकी प्रदेशको पोखराबाटै गरेकी थिइन् ।
गण्डकी प्रदेशको चुनामा दुई पक्षबीच प्रतिस्पर्धा हुँदा पूर्वराष्ट्रपति भण्डारीले शर्मालाई सहयोग गरेकी थिइन् ।शर्मा निर्वाचित भएपछि शपथ गराउन गएका अध्यक्ष केपी शर्मा ओलीले मञ्चबाटै उनको आलोचना समेत गरेका थिए ।
शर्मा मदन भण्डारीको ७५औं जन्मजयन्तीको मूल समारोह समिति सदस्य समेत छन् । अहिले केन्द्रीय कमिटीको बैठकमा उनै शर्मासहितका गण्डकीका अधिकांश नेताहरूले ओलीको समर्थन गरेका हुन् ।
गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका गरी दुई समूह छन् । गुरुङलाई ओलीको विपक्षका मानिए पनि पछिल्लो समय उनी ओली निकट नै मानिन्छन् ।