काठमाण्डू, ५ साउन– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता कार्यकर्तालाई पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव आग्रह गरेका छन् ।
आज (सोमबार) पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष ओलीले नेता कार्यकतालाई यस्तो आग्रह गरेका हुन । उनले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न सुझाएका हुन ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे । उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति व्यक्त गरेका छन। ‘जता जाँदा पनि पछ्याउन पर्ने ? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने ?,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसरी हुँदैन ।’
उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए । ‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो,’ अध्यक्ष ओलीले भने, ‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ ।’ उनले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिएका छन् ।
‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्यो त्यो,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताएका छन् । पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताए ।
‘हाम्रो आन्दोलनले सधैं हमला बेहोरेको छ, विरोधीहरूले हाम्रो समर्थन गर्दैनन्, झुट र बेइमान छन् । स्तरहीन छन् । अफवाह फैलाउँछन्, हाम्रो पार्टीले इतिहासदेखी हमला झेलेका हो,’ अध्यक्ष ओलीले इतिहास कोट्याए, ‘८ साल देखि १३ साल सम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लागेको थियो । मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन ।’
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीमा गालीगलौजको प्रवृत्तिलाई मोहनबिक्रम सिंहले सैद्धान्तिकरण गरेको बताए । त्यससलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तार गरेको ओलीको आरोप थियो ।गाली गवौजको प्रवृत्तिलाई मोहनविक्रमले सैद्धान्तिकरण गरे, पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो, राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ,’ उनले भने ।