कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ५ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, ५ साउन– पोखरामा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो । कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिएका छन ।

कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जानकारी दिएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो ।

पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछि हो । गण्डकीमा देखिएका संक्रमितमा कोभिड–१९ पुष्टि भएको निर्देशनलयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us