पहुँचको आडमा कारबाहीबाट जोगिँदै आएका मधेसका पूर्वप्रदेश प्रमुख अहिराज पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ४ गते २२:०५ मा प्रकाशित

काठमाण्डू, ४ साउन– मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज झा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी विश्व अधिकारीले झालाई आइतबार पक्राउ गरिएको बताए ।

अहिराज ७ फागुन २०७७ देखि ३२ साउन २०७८ सम्म मधेस प्रदेश प्रमुख थिए । उनलाई हालका प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका बेला प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा पीडितका तर्फबाट गत ३ माघमा जाहेरी दर्ता भएपछि झा फरार थिए । प्रहरीले जिल्ला अदालतबाट ढिला गरी २५ चैतमा मात्र पक्राउ अनुमति लिएको थियो ।

काठमाण्डू जिल्ला अदालतले झालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यद्यपि पीडितले गत कात्तिकमै उजुरी दिन खोज्दा प्रहरीले अस्वीकार गरेको थियो ।

पीडितले २८ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा जाहेरी दिइन् । सरकारी वकिल कार्यालयले ३० कात्तिकमै उजुरी दर्ता गर्न जिल्ला प्रहरी परिसरमा पत्राचार गरेको थियो ।

पीडितले दिएको उजुरीमा झाले घरमा कोही नभएको मौका छोपेर आफूमाथि ४ जेठ २०८१ मा पटकपटक बलात्कार गरेको उल्लेख छ । घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिएको पीडितको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us