बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाण्डु टुडे २०८२ साउन ४ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, ४ साउन– नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकहरुले लगानी गर्न नसकेको करिब पौने सात खर्ब रुपैयाँ राष्ट्र बैंकले तानिसकेको छ ।

आइतबार थप ५० अर्ब रुपैयाँ तरलता राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्ने तयारी गरेको हो । निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्न लागेको छ । साँवा ब्याज भुक्तानी आगामी भदौ १५ गते बुझाउने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

नयाँ मौद्रिक नीति कार्यान्वयनमा आएपछि केन्द्रीय बैंकले पहिलो पटक निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

सोमबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us