
काठमाण्डू, २४ असार– त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत आयोजनाहरू प्रभावित भएका छन् ।
बाढीले कुल २०० मेगावाट बराबरको विद्युत उत्पादन पूर्ण रूपमा रोकिएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यका अनुसार सबैभन्दा ठूलो क्षति रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा भएको छ ।
बाढीले सो आयोजनाको बाँधमा रहेको एउटा गेट बगाएको छ भने पुलसमेत चर्किएको छ । जसका कारण सवारी आवागमन अवरुद्ध भएको छ । आयोजनाको टेलरेस क्षेत्रमा भने संरचनात्मक क्षति नभए पनि थुप्रिएको गेग्रानले सञ्चालनमा अवरोध पु¥याएको छ ।
६० मेगावाट क्षमताको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा पनि बाढी पस्दा क्षतिको विवरण आउन बाँकी रहेको शाक्यले बताए । भवनभित्र पानी पसेको र त्रिशुली ३ ‘बी’ सबस्टेसनलाई हिलोले छोपेको छ । यी आयोजनाबाट पनि हाल विद्युत उत्पादन रोकिएको छ ।
त्यस्तै चिलिमे जलविद्युत केन्द्रमा बाढीका कारण पानी छरेको भए पनि ठूलो क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यद्यपि त्रिशूली किनारमा रहेको प्रसारण लाइनको बाइपास टावर पनि बगाएको छ ।
भोटेकोसी नदीमा गएराति आएको बाढीका कारण नेपाललाई चीनसँग जोड्ने रसुवागढीस्थित मितेरी पुल बगाएको छ । बाढीले रसुवा भन्सार यार्डमा राखिएका सवारी साधन पनि बगाएको छ ।
यस्तै बाडीले उक्त क्षेत्रमा सडक र सुख्खा बन्दरगाह पनि बगाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पुगेको बताए । उनले रातिको समयमा घटना भएकाले मानवीय क्षति भएको समेत अनुमान गरिएको उल्लेख गरे । केही मानिसलाई गाडीसँग बाढीले बगाइको आशंका रहेको उनको भनाइ छ ।
काठमाण्डूमा उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर तयारी अवस्थामा भए पनि खराब मौसमका कारण अवतरण हुन सक्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिए ।