
काठमाण्डू, १४ असार– एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र आफ्नो विकल्पको चर्चा गर्ने नेताहरुलाई धम्कीपूर्ण चेतावनी दिएका छन् ।
रहस्यमय दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पार्टी सम्वद्ध युवा संघद्वारा शनिबार काठमाण्डूको कंकालीमा आयोजित वृक्षरोपण कार्यक्रममा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थी तत्वलाई महाधिवेशन लागेको बताए ।
ओलीले पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाबकिताब गरिने चेतावनी दिए । आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको भए पनि स्वार्थी समूह पार्टीको एकता खल्बल्याउन सक्रिय रहेको उनको भनाइ थियो ।
‘हामी अर्जुनदृष्टिका साथ मिसन–२०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन’, ओलीले भने, ‘केही स्वार्थीलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’
ओलीको भनाइ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा ल्याउन सक्रिय नेताहरुतर्फ लक्षित थियो । यद्यपि उनले कसैको पनि नाम उलेख गरेनन् ।