मैले ढाई सय ट्यालेन्टमार्फत डेढ लाख विद्यार्थीलाई अनलाइन पढाउन लगाएकाले एसईई नतिजा राम्रो आयोः ओली

काठमाण्डु टुडे २०८२ असार १४ गते १२:४७ मा प्रकाशित

काठमाण्डू, १४ असार– प्रधानमन्त्री केपी ओलीले आफ्नो व्यक्तिगत पहलमा करिब ढाई सय प्रतिभाशाली मेन्टर र शिक्षकहरुले अनालइन कक्षा सञ्चालन गरेका कारण

एसईई परीक्षाको नतिजामा सुधार भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले एसईईमा ४८ प्रतिशतबाट ६२ प्रतिशत नतिजा आएकोमा जस लिने प्रयास गरे ।

‘एसइईको नतिजा प्राप्त भएको छ । परीक्षामा गत वर्षको भन्दा १४ प्रतशिते वृद्धि भएको छ । गत वर्षमा मात्र होइन, धेरै वर्षपछि एसईईको नतिजामा वृद्धि भएको यो पहिलोपटक हो’, ओलीले भने, ‘मैले व्यक्तिगत रुपमा केही ट्यालेन्ट खालका युवाहरु र शिक्षकलाई आग्रह गरेर धेरै ल्यापटलहरु मोबाइलहरु प्रयोग गरेर डेढ लाख जति विद्यार्थीलाई अनलाइनमा निःशुल्क कक्षा सञ्चालन गराएको थिएँ ।’

उनले अनलाइन कक्षाका लागि टेलिकमको सुविधा नपुगेको स्थानमा आफूले विशेष आग्रह गरेर नेपाल टेलिकमको पाइभजी सुविधा विस्तार गर्न लगाएको पनि दाबी गरे ।
ओलीले एसईईको पुरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि तत्कालाई आगामी वर्ष एसईई दिनेहरुका लागि केही दिनमै त्यस्तो कक्षा सुरु हुने बताए । उनले यसपटक पनि आफ्नो आग्रहमा दुई सय ५० जना युवाले डेढ लाखजति विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताए ।

आफूले संसदबाटै यो वर्ष एसईईमा ७० प्रतिशत नतिजा आउने बताए पनि सबैको सहयोग नभएकाले सम्भव नभएको जिकिर उनको थियो । आगामी वर्ष भने ७० प्रतिशत नतिजा आउने दाबी ओलीले गरे । अंक थपेर बढी विद्यार्थी पास गराइएको आरोपप्रति ओलीले आक्रोप पोखे ।

नयाँ पुस्ता र विद्यार्थीहरुमाथि विश्वास नभएकाहरुले लगाएको आरोप नपत्याउन ओलीले आग्रह गरे ।

‘यस्तो नतिजामा पनि केही मानिसले अंक थपेर पास गराएको जस्ता बिनाआधार नयाँ पुस्ताको उत्सहलाई अपमान र होच्याउने गरी कुनै कुनै विद्वानले बोलेको सुन्दा मलाई दुःख पनि लाग्छ, अचम्म पनि लाग्छ’, ओलीले भने ‘नम्बरमा खेलबाड होइन, अंकमा खेलबाड होइन, विद्यार्थी र शिक्षकले मेहनत गरेर यो नतिजा ल्याएका छन् । मैले यसै सदनबाट भनेको थिएँ, यसपल्ट कम्तिमा ६० प्रतशित भन्दा बढी पुयाइने छ । मैले पहिले भनेको थिएँ ७० प्रतिशतसम्म पनि पुयाउने सम्भावना हुन्छ, यदि सबैको सहयोग भयो भने । तर, विभिन्न दृष्टिकोणमा मानिस छन् । सबैको सहयोग भएन ।’

ओलीले नयाँ पुस्तालाई तिमी अल्छी छौ लद्दुछौं, पढ्न स्क्दैनौ भनेर नहेप्न भन्दै परीक्षामा विद्यार्थी फेल गराउने परिपार्टी अन्त्य हुनुपर्ने बताए ।

उनले एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै उज्जवल भविष्यको कामना गरे । यस्तै त्यसका लागि मेहनत गर्ने शिक्षक र अभिभाकलाई पनि ओलीले भन्यवाद दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us