सुकेटार विमानस्थलमा दुई सातादेखि हवाई सेवा ठप्प

काठमाण्डु टुडे २०८२ असार १४ गते १०:५८ मा प्रकाशित

ताप्लेजुङ, १४ असार– ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ ।

चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन ।

निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् ।

प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् ।

‘मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो,’ कार्कीले भने ।

शुक्रबार ताप्लेजुङ–काठमाण्डू  र काठमाण्डू–ताप्लेजुङ उडानमा तीन–तीनजना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो। नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ ।

टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् ।

वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् ।

ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us