सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेनः हितराज पाण्डे

काठमाण्डु टुडे २०८२ असार ११ गते १३:१० मा प्रकाशित

काठमाण्डू, ११ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइकै कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको दाबी गरेका छन ।

आज (बुधबार) बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले गम्भीर भएर लाग्न सरकारलाई आग्रह समेत गरे । उनले भने, ‘सरकारकै कारण विधेयक छिटो छिटो अगाडि बढेको छैन ।

यसमा गम्भीर रूपमा लियोस् । विधेयकलाई अगाडि बढाउन समितिको सभापतिको पनि ध्यान गएको देखिएको छैन । त्यसमा म ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विधेयक पनि सँगसँगै छलफलमा ल्याएको भए झन् राम्रो हुने पनि बताए ।

साथै प्रस्तावित विधेयकमा प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेट्ने गरी विधेयक आउनुपर्ने पाण्डेको धारणा थियो । उनले अहिलेको डिजिटललाइज युगलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउन सुझाव दिएका छन ।

उनले भने, ‘डिजिटलाइज युगमा सम्बोधन गर्ने गरी विधेयक आउनुपर्छ । प्रदेशले प्रहरी विधेयक बनाइसक्यो तर सङ्घमा अहिलेसम्म अगाडि बढ्न सकेको छैन । कार्यतालिकै बनाएर लैजाऔँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us