
काठमाण्डू, १० असार– बरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले कानुन निर्माण गरेर मात्रै गरेर नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव नरहेको बताएकी छन । कानुनका शब्दहरूलाई व्यवहारमा उतार्न समाजका सबै तहबाट आवाज उठ्न आवश्यक रहेको पनि उनले बताएकी छन ।
शनिबार काठमाण्डूमा सम्पन्न न्यायमा नारीको आवाजः बरिष्ठ अधिवक्ता ढुङ्गाना सँग अन्तरसंवाद शीर्षकको एक विशेष कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता ढुङ्गानाले महिलामाथि भइरहेका आधुनिक हिंसाका प्रकारहरू, सामाजिक संरचना तथा न्यायिक प्रणालीभित्रको लैङ्गिक असमानताको सन्दर्भमा आफ्ना धारणा राख्ने क्रममा यस्तो बताएकी हुन ।
बरिष्ठ अधिवक्ता ढुङ्गानाले भनिन्, ‘आजको दिनमा हिंसा केवल शारीरिक वा देखिने रूपमा मात्र हुँदैन। मानसिक, आर्थिक, साइबर वा सामाजिक बहिष्करणका रूपमा पनि महिलामाथि हिंसा भइरहेको छ, जुन प्रायः कानुनी रूपमा सम्बोधन हुन सकिरहेको छैन ।’ कार्यक्रममा ढुङ्गानाले सामाजिक खाल्डो र न्याय प्रणालीबीचको दूरीप्रति चिन्ता व्यक्त गर्दै समाज परिवर्तनका लागि व्यक्तिगत तथा सामूहिक प्रयासको खाँचो आवाश्य रहेको बताइन ।
उनले भनिन्, ‘एक–एक जनाको आवाज मिलाएर बोल्दा मात्रै समावेशी र समानतामूलक समाजको निर्माण सम्भव हुन्छ ।’ एनएएलसी फेमिनिस्ट स्वार्क द्धारा आयोजित उक्त कार्यक्रममा न्यायालयमा कार्यरत महिला कर्मचारी, कानुन विद्यार्थी, महिला अधिकारकर्मी र कानुन व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले महिला अधिकार, न्याय र कानुनी पहुँचका विषयमा यस्ता कार्यक्रमहरूबाट नयाँ दृष्टिकोण विकास हुने विश्वास व्यक्त गरेका थिए।