
काठमाण्डू, ९ असार–जनता समाजवादी पार्टी (जसपा) ले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
जसपाको शुक्रबार र शनिबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकार असफल भएको निस्कर्षसहित समर्थन फिर्ताको निर्णय लिएको हो ।
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिन संसदीय दललाई निर्देशन दिएको सह–अध्यक्ष राजकिशोर यादवले काठमाण्डूटुडेलाई बताए । ‘केन्द्रीय समितिले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन निर्देशन दिएको छ’, यादवले भने । उनका अनुसार केही दिनभित्रै संसदीय दलको बैठक बसेर त्यसबारे निर्णय लिइने उल्लेख गरे ।
बैठकपछि प्रवक्ता मनिषकुमार सुमनद्वारा जारी विज्ञप्तिमा सरकार भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिन, आर्थिक अवस्थामा सुधार ल्याउन तथा संविधान संशोधनको एजेण्डामा असफल भएको ठहर बैठकले गरेको उलेख छ ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।