काठमाण्डू, ९ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले पछिल्लो केहि समय यता प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ ।
यस्तोमा रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आएका थिए । सोमबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।
राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए । सभाबाट बाहिरिनु अगाडि रास्वपाका सांसद शिव नेपालीले जनताको कुरा उठाउनु आफूहरुको अपराध नरहेको बताए । बरु भिजिट भिसाको नाममा युवालाई विदेशमा बेच्नु घोर अमानवीय कार्य हो ।
यस्तो गम्भीर अपराधमा सरकार मौन रहेको बताए । आफूहरु कुनै दल वा नेताको विरोधमा नरहेको भन्दै उनले मानव तस्करी, कुशासन र भ्रष्टाचार विरुद्ध अभियानमा रहेको बताए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको आग्रह छ । यो प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायीक छानबिन समिति गठन हुनुपर्ने उनको अडान छ ।