पोखरामा युवकको शव फेला, घटना शंकास्पद

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १२:१० मा प्रकाशित

पोखरा, २६ जेठ– पोखरा महानगरपालिका– १५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव फेला परेको छ । बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा रगतसहित अनुहार र शरीरमा चोट लागेको शव फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन ।

उनले भने, ‘बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिन्छ । घटनास्थलमा हथौडा भेटिएको छ तर उसको पहिचान खुल्ने कुनै पनि कागजात भेटिएन’, डिएसपी बस्नेतले भने, ‘बिहानै तालिमप्राप्त कुकुरमार्फत पनि अनुसन्धान थालेका छौं तर अहिलेसम्म घटना रहस्यमय देखिएको छ ।’ साथबाट परिचय खुल्ने कुनै पनि कागजात नभेटिँदा, कुनै पनि स्थानीयले नचिन्दा र देखिइराखेको व्यक्तिसमेत नपरेको हुँदा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

बिहान ५ बजे प्रहरीले सडकमा मानिस मरेको अवस्थामा भेटिएको सूचना पुगेको थियो । साढे १–२ बजेसम्म मानिसहरु हिँड्दा नदेखिएको र बिहान ५ बजेतिर शव भेटिएको सूचनापछि प्रहरी पुगेर हेर्दा घटना ४ वा साढे ४ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।

राति नै हत्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us