प्रधानमन्त्री ओलीको लाचार अभिव्यक्तिः तीर्थको मुभी क्यामेरा इमिग्रेसनले खायो !

काठमाण्डु टुडे २०८२ जेठ १३ गते २३:०८ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– पटकपटक भ्रष्टाचारीको मुखै नहेर्ने बताउने गरेका प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा त्रिभुवन विमानस्थल अध्यागमनमा हुने गरेको बेथिति, भ्रष्टाचार र यात्रुलाई दिने गरिएको सास्तीबारे लाचार अभिव्यक्ति दिएका छन् ।

बेथिति, अनियमितता र सार्वजनिक सेवा प्रवाह सुधार गर्ने भूमिकामा रहेका प्रधानमन्त्री ओलीले पदीय जिम्मेवारीले बोल्नै नमिल्ने दिक्दारी व्यक्त गरेका हुन् । ओलीले विदेशबाट आउनेहरुलाई सामान ल्याउँदा पैसा माग्ने र ब्यागेज हराउने घटना पटकपटक हुँदै आएको स्वीकार गरे । यतिसम्मकी तीनपटक नेपाल आएका ऋलंकाका एक मन्त्रीको तीनैपटक लगेज हराएपछि उनले अर्कोपटकदेखि नेपाल नआउने बताएको समेत उनले सुनाए ।

राजधानीमा आयोजित पर्यटन संवाद कार्यक्रममा ओलीले अध्यागमनबारे दिएको अभिव्यक्ति जस्ताको तस्तै 
मैले अहिले नाम बिर्सिएँ श्रीलंकाको एकजना मन्त्रीजी हुनुहुन्थ्यो । पाकोपाको मुठामुठा जुँगा पाल्याथ्यो । सेता जुँगा भएको । तेश्रोपल्ट नेपाल आउनुभो । फर्किने बेलामा के भन्नुभो भने, ‘अब त पाको पनि भएँ । बैंसको भए पनि कलिलो भए पनि, फेरि नेपाल जेसुकै भए पनि आउँदिनथें । फेरि नेपाल आउँदिनथें । किनभने तीनपल्ट नेपाल आएँ, तीनैपल्ट सुटकेस छैन । क्लेम गर्दा पनि पाएन । केही गर्दा पनि पाएन । पाउँदै पाइएन । तीनैपल्ट । तीन पल्ट आएको । त्यही पनि मन्त्री मान्छे । क्रिकेटको सबभन्दा टप खेलाडी । अलि पहिलेको टप खेलाडी थियो नि । श्रीलंकामा, अलिक अगाडिको । रणसिंघेजस्तै नाम छ । उनी मन्त्रीका छोरा हो त्यो खेलाडी चाहिं । म पनि यहाँ मन्त्री थिएँ, लाज भो । सुटकेस मात्र भएको भए म किन्दिन्थें । के थियो के थियो । अब कहाँबाट किन्दिने ? कताबाट किन्ने । के थियो के थियो । के चिज किन्ने ? सुटकेस मात्रै भए लाजैले पनि म किनेर पठाउँथें । ए तिम्रो सुटकेस लैजाउ । बरु तीनवटै सुटकेस किनेर दिन्थें । तर, तीनैपटक सुटकेस हरायो ।
चितवनका तीर्थ खनाल नाम गरेका नेपाली अमेरिकामा पढ्न गए । उनी मिले बिहे गर्ने नभए उतै गर्ने भनेर मुभी क्यामेरा बोकेर नेपाल आएछन् । उनले आफैंले चलाइराखेको मुभी क्यामेरा । त्यो मुभी क्यामेरा । पहिला तपाईं त विदेश बस्ने मान्छे किन चाहियो यो मुभी क्यामेरा । जागिर खानुहुन्छ । इन्जिनियर हो । इन्जिनियरको त धेरै जागिर हुन्छ त्यहाँ । ५ सय डलर दिनुस् मलाई । किन दिने ५ सय डलर ? तपाईं पो धेरै कमाउनुहुन्छ । हामीलाई दिनुस् । यो त घूस खाने कुरा हो । यो हुँदैन भनेपछि अनि । नदिने नै हो त ५ सय डलर ? नदिने । अनि क्यामेराको बिल खै ? म अमेरिका बस्छु । उहाँबाट मैले चलाइराख्या क्यामेरा फोटो खिच्न लिएर आएको । कुन जमानामा किनेको क्यामेरा हो । कहाँबाट बिल ल्याउने मैले । उनी अली पड्किए । के हो यो, नेपाल यो ? यस्तो पनि हुन्छ ? लुटफसल गर्ने यहाँ ? भने । चोरी तस्करी के–के गर्न खोजेको आरोपमा गिरफ्तार । एक जना मान्छेले इमिग्रेनसको अफिसमा देखेर चिनेछ । यो तीर्थ किन यहाँ आइराख्या भनेर छक्क परेछ । अनि मैले नि चिनेको मान्छे भनेर । त्यो तीर्थ त यहाँ रहेछ । इमिग्रेसनको कार्यालयमा चुप लागेर बसिराख्या छ । मैले इमिग्रेसनको हाकिमलाई फोन गरें । यस्तो छ रे त्यहाँ । एउटा अमेरिका बस्ने तीर्थ खनाल भन्ने मान्छे । आए त्यहाँ ? अँ छन् यहाँ । अनि के भएछ त्यहाँ ? यहाँ अनेक सामानहरु अनियमित ढंगले ल्याएको मुद्धा लगाएर ल्याएको छ भने । यस्तो पनि हुन्छ तपाईंहरुको तरिका भनें मैले । त्यो क्यामेरा थपक्कन मगाउनुस्, बुझाउनुस् र मान्छे छाड्नुस् । यति हदसम्म पनि गर्ने तपाईंहरुले भनेपछि । तीर्थ जाने बेलासम्म मैले क्यामेरा बोकाएर पठाउन सकिन । क्यामेरा इमिग्रेसनले खायो । तीर्थ खनाल चितवनको मान्छे । सियाटलमा इन्जिनियर छन् अहिले पनि । मुभी क्यामेरा इमिग्रेसनले खायो । यो त अमेरिका बस्ने । लड्ने, जुध्ने मान्छेको क्यामेरा । त्यसमाथि मैले त्यो क्यामेरा तिमीहरुले दिनैपर्छ भनेर अनेक कोसिस गरें । कसले चाहिं बुझेको थियो । कसले चाहिं समातेको थियो भन्छ । उसले कसले चाहिं समात्यो भन्ने ? हाकिम पनि उस्तै छ । अर्को पनि उस्तै छ । अर्को पनि उस्तै छ । यो खालको तरिकाले टुरिस्ट कसरी आउँछ ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us