
काठमाण्डू, १३ जेठ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको विकल्पमा नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने बताएका छन् ।
मंगलबार सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा थापाले राजसंस्था र राजा फरक चिज भएकाले राजसंस्थाभित्र राजा हुने व्यक्ति नयाँ पनि हुनसक्ने बताए ।
शाह वंशकबाट जो राजा भए पनि हुने भन्दै उनले ज्ञानेन्द्रको साटो नाति हृदयेन्द्रको विकल्पमा जान सकिने उल्लेख गरे ।
हृदयेन्द्र युवक भइसकेकाले उनी गद्धी सम्हाल्न सक्ने भएको तर्क उनको छ । कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजसंस्था पुनर्स्थापनाका लागि गठित आन्दोलनका संयोजक पूर्वपञ्च नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट पनि सहभागी थिए ।
लिङ्देन, सुवेदी र बिष्ट भने राजतन्त्र फर्काउन सकिए पूर्वराजा ज्ञानेन्द्रलाई नै गद्धीमा राख्नुपर्ने पक्षमा छन् ।
थापाले व्यापक जनसहभागितामा हुने भद्र अवज्ञा आन्दोलनमार्फत गणतन्त्रवादी शक्तिहरुलाई समझदारीमा आउन बाध्य पार्ने रणनीतिमा आफूहरु रहेको बताए ।
थापाले वर्तमान संविधानमै राजतन्त्रका लागि स्थान खोज्न सकिने तर्क अघि सारे । संविधान संशोधनमार्फत गणतन्त्रवादी र राजावादीबीच पाले मिलनबिन्दु पहिल्याउन सकिने उनको भनाइ थियो ।
यसअघि सडककै दबाबमा दुईपटक संविधान संशोधन भइसकेको उदाहरण प्रस्तुत गर्दै थापाले अब पनि आन्दोलनको बलमा त्यसो गर्न सकिने औंल्याए ।
विभिन्न राजावादी दल र हिन्दू धर्मसम्बन्धी समूहहरुले जेठ १५ गतेबाट राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गर्ने बताएका छन् ।