
काठमाण्डू, १३ जेठ– कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवा बसेको पदाधिकारी बैठक आफूबारे केन्द्रित रहेको भन्दै आपत्ति जनाएका छन् ।
गृहनगर विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले बैठक अवधिभर आफ्नो विषयमा कुरा भएको सुन्दा अचम्मित भएको बताए ।
सोमबार देउवा निवासमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेकामा कोइरालासहित सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईंसँग स्पष्टीकरण सोध्नुपर्ने विषय उठेको थियो । उनीहरु तीनै जनाले पर्यटक भिसाका नाममा विदेश जाने युवाहरुबाट दैनिक लाखौं रकम असल्ने गरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका थिए ।
देउवा निवासको बैठकमा प्रधानमन्त्री केपी ओलीले १५ जेठमा काठमाण्डू कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिएको विषयमा छलफल हुनुपर्नेमा आफ्नो विषयमा छलफल हुनुलाई सामान्य रुपमा नलिएको उल्लेख गरे । ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला । प्रधानमन्त्रीले १५ गते काठमाण्डू कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला । तर कुरा त मेरै बारेमा मात्रै भएछ’, कोइरालाले भने । मुलुकको कार्यकारी प्रमुखले मुलुकलाई मुठभेडमा लाने अभिव्यक्ति दिएको विषयमा काँग्रेसले नबोल्नु अनौठो भएको टिप्पणी गरे ।