आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १३:५६ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित बैठक अझै सुरु हुन सकेको छैन ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका हुन ।

उनीहरू उच्चस्तरीय छानविन समिति बनाएर गृहमन्त्रीमाथि पनि अनुसन्धान गर्न समेत माग गरेका छन । गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नसक्ने भन्दै विपक्षी दलका सांसदले निरन्तर नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

सत्तापक्षका सांसदहरूले भने आफूमाथि लागेको आरोपबारे जवाफ दिन गृहमन्त्री उपस्थित भएकाले उनलाई बोल्न दिनुपर्ने अडान राखेका छन । बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा जुटेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us