
काठमाण्डू, १३ जेठ– नेकपा माओवादी केन्द्रका सांसद् वर्षमान पुन अनन्तले सगठित मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिघिरिले पुनलाई बोल्न समय दिएका थिए ।
पुनले पर्यटक भिसाका नाममा दैनिक ५० लाखदेखि ३ करोड रुपैयाँसम्म उठाउने गरिएको प्रकरण सामान्य नभएको बताए ।
उनले आफैंले पठाएका विमानस्थल अध्यागमन प्रमुखले भिजिट भिसाका नाममा लाखौं रुपैयाँ उठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने पुनको भनाइ थियो ।
विवादित सहसचिवलाई सक्षम वा इमान्दार भएर वा अर्कै स्वार्थका लागि अध्यागमनको जिम्मेवारी दिइएको प्रश्न पुनले गरे ।
पुनले गत असोज यता मात्र भिजिट भिसाका नाममा ४ सय ५० अर्ब रुपैयाँ उठाइएको बताए । पुनले सहसचिव स्तरका कर्मचारीले मात्र यति ठूलो प्रकरण घटाउन नसक्ने बताए ।
अख्तियारले नै उक्त प्रकरणमा प्रक्राउ परेका अध्यागमन प्रमुखलाई सानो माछा भनेर छाडेको भन्दै पुनले ठूलो माछाबारे छानबिन हुनुपर्ने बताए ।
‘हामी गृहमन्त्री नै उक्त प्रकरणमा संलग्न हुनुहोला भन्ने आरोप लगाउन चाहन्न । तर, उहाँले पठाएका सहसचिव र उहाँको सचिवालय संलग्न छ’, पुनले भने, ‘अख्तियारले सानो माछा भनेर छाडेको छ । ठूलो माछा को हो ? यति ठूलो घटनामा सहसचिव मात्रै संलग्न हुन सक्दैनन् ।’
लेखक पदमै बसेर सो प्रकरणको निष्पक्ष छानबिन हुन नसक्ने भएकाले उनले राजीनामा दिनुपर्ने पुनले उल्लेख गरे ।